गोली हानी भारतीय युवकको हत्या

तु खबर संवाददाता
२०८० आश्विन १०, बुधबार ०९:२१
file photo

बारा । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा गोली हानी एक भारतीय युवकको हत्या भएको छ । मंगलबार साँझ करिब ६ बजेको समयमा २२ वर्षीय अजित कुमार सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।

प्रहरीका अनुसार, सिंह भारतको मोतहारी जिल्लाको सुक्लहिया गाउँ निवासी भएको खुलेको छ । सिंहसँगै सोही ठाउँ बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहानी र २० वर्षीय कामेश्वर सहानी दुई वटा अन टेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए ।

लक्ष्मिनियामा रहेको पोखरी नजिक पुगेपछि एउटै बाइक पछाडि बसेका सुजित कुमार सिंहले मृतक अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरेका थिए । त्यसपछि अरू मोटरसाइकलमा भारततर्फ भागेका थिए ।

घटनास्थलबाट प्रहरीले एक थान गोलीको खोका बरामद भएको छ । मृतक अजितको शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।