‘आन्दोलनको नाममा विद्यालय बन्द गर्नेलाई कारबाही गर्छौँ’
′′काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आन्दोलनको नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने जनाएको छ ।
शिक्षा विधेयक विरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकलाई लक्षित गर्दै विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी दिइएको हो ।
महानगरले आज सूचना जारी गर्दै देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने भनी विभिन्न पत्रपत्रिकामा आएको समाचार र प्रेस विज्ञप्तिप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको समेत जनाएको छ ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाद्वारा जारी विज्ञप्तिमा शिक्षकहरुले आफ्नो माग राख्दा बालबालिकालाई पठनपाठनबाट बञ्चित गर्नु कुनै पनि अर्थमा क्षम्य नहुने भएकाले आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गरिने उल्लेख छ ।
मेयर बालेन साहले आन्दोलनको नाममा आन्दोलन गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।



