मकवानपुरमा नव साहित्य डटकमको प्रकाशन आरम्भ

हेटौंडा । मकवानपुरमा नव साहित्य डटकम अनलाइन पत्रिकाको प्रकाशन आरम्भ भएको छ ।
शनिवार हेटौंडामा एक कार्यक्रमका बीच साहित्यिक र प्रविधि विशेष सो अनलाइन पत्रिकाको औपचारिक शुभारम्भ भएको हो । साहित्यकार निमेष निखिलको सम्पादनमा अनलाइनको प्रकाशन सुरु भएको हो ।
कार्यक्रममा साहित्यकार द्वय खगेन्द्र संग्रौला र युग पाठकले नव साहित्य डटकमले अनलाइनको भीडमा पृथक पहिचान बनाओस् भनी शुभकामना दिए ।
उनीहरुले साहित्य क्षेत्र समाज रुपान्तरणको एउटा प्रमुख मार्ग भएको उल्लेख गर्दै नव साहित्य डटकमले साहित्यमार्फत् समाजमा दिन खोजिएको सन्देश पाठकसमक्ष पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा अनलाइनका संचालक प्रकाशचन्द्र पाण्डेले स्वतन्त्र एवम् निश्पक्ष पत्रकारितामार्फत् समाजमा देखिएका विकृति विसंगतीविरुद्ध आवाज उठाउँदै समाजलाई निरन्तर सुसूचित गराउने र विशेषगरी साहित्य क्षेत्रको विकासमा योगदान पुर्याइने उल्लेख गरे । उनले अनलाइन संचालनको क्रममा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संविधानसभा सदस्य प्रल्हाद लामिछाने, हेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देल, हेटौंडा ५ का वडाध्यक्ष शुसिल घिमिरेलगायत मकवानपुरका पत्रकार एवम् साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
सो अनलाइनमा सक्रिय पत्रकार मसान उपासक, महेन्द्र ओझा र लेखक साहित्यकार संप्रश पौडेललगायत आवद्ध रहेका छन् ।