सातामा ९५ अंकले बढ्यो नेप्से, २३ अर्बको कारोबार

तु खबर संवाददाता
२०८० असार १५, शुक्रबार १८:०२

काठमाडौं । यो साता सेयर बजारमा हरियाली छाएको छ । चार दिन कारोबार भएको यस साता नेप्से सूचक ९५.४६ अंकले बढ्दै २१ सय ५०.९९ अंकको विन्दुमा उक्लिएको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् असार ७ गते ४.७५ अङ्कले बढ्दै २ हजार ५०.७८ अङ्कको बिन्दुमा रोकिएको थियो ।

यस साताको पहिलो दिन ६२.२१ अंकले, दोस्रो दिन ११.६९ अंकले, तेस्रो दिन अर्थात् असार १२ गते पुनः ५६.९४ अंकले बढ्दै २१ सय ८६.३६ अंकको बिन्दुमा उक्लियो । तर, साताको अन्तिम कारोबार दिन बुधवार भने नेप्से सूचक ३५.३७ अंकले घट्दै २१ सय ५०.९९ अंकको विन्दुमा झरेको थियो ।

आइतबारदेखि बिहीबारसम्म सातामा कूल ५ दिन सेयर कारोबार हुने भए पनि यस साता बिहीबार सार्वजनिक विदा परेकाले चार दिन मात्र कारोबार भएको हो ।

यस्तै, अघिल्लो साता सवा २० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार हुँदा यस साता २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । अघिल्लो साता जम्मा १३ अंकले मात्र नेप्से सूचक बढ्दै गर्दा कूल २० अर्ब १४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।