टिपरको ठक्करबाट बाबुको मृत्यु, छोरा गम्भीर घाइते

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७, ठूलोखोलामा बिहीबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहान १० बजेको समयमा नुवाकोटको देवीघाटबाट धादिङको गल्छीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–२९प ५७५८ नम्वरको मोटरसाइकललाई गल्छीबाट देवीघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१–ख २५८४ नं को टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका ५० वर्षीय नेत्रमान विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका नेत्रमानको उपचारका क्रममा त्रिशूली अस्पतालमा निधन भएको हो ।
यस्तै, सोही दुर्घटनामा परेर मृतक नेत्रमानका छोरा २० वर्षीय निरज विश्वकर्मा गम्भीर घाइते भएका छन् । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । उनको हातखुट्टासहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट लागेको र अवस्था गम्भीर नुवाकोट प्रहरीले जनाएको छ ।
प्रहरीले ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।