१२ कक्षामा नन ग्रेड आएको विषय मात्र पुनः परीक्षा दिन पाइने

तु खबर संवाददाता
२०८० बैशाख २३, शनिबार ०९:४४
file photo

काठमाडौं । कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको हो ।

यो भन्दा अघि दुई वा दुई भन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो ।

बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले विद्यार्थीले दुई वा दुई भन्दा कम विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यस भन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र ३ वर्षसम्म परीक्षा दिने पाउने निर्णय गरेको हो ।

एक पटक तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेपछि सोही विषयमा दोहोर्‍याएर परीक्षा दिन उपयुक्त नहुने भएकोले संशोधन गरिएको बोर्डले जनाएको छ ।