मिटरब्याज समस्या सम्बोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई समाधानका लागि अध्यादेशमार्फत कानुन ल्याउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्न लागिएको जानकारी दिइन् ।
सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा फौजदारी अपराध मान्ने गरी कानुन संशोधन गर्न लागेको छ । मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता संशोधन गरेर अनुचित लेनदेनमा हुने कानुनी कारबाही र त्यसका लागि अपनाउनुपर्ने कार्यविधिसम्बन्धी व्यवस्था थप गर्न लागेको हो ।