सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको शिक्षा मन्त्रालय दाबी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लाको विद्यालयमा पढ्ने विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको दाबी गरेको छ ।
मन्त्रालयले यसपालि समयमै सबै विद्यालयका विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेको जानकारी गराएको हो ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सहसचिव दीपक शर्माले सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको जानकारी दिए । उनले बैशाखको दोस्रो सातासम्म देशभरका सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको बताए ।
यस वर्ष जनक शिक्षा सामग्री केन्द्रबाट कक्षा ६ देखि १० का लागि एक करोड ५५ लाख थान पाठ्यपुस्तक छपाइएको थियो भने साथै निजी क्षेत्रका प्रेसबाट कक्षा १ देखि ५ सम्मको १ करोड १८ लाख पाठ्यपुस्तक छपाइ गरिएको थियो ।