आज इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इद उल फित्र’ मनाइँदै

मकवानपुर । आज इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इद उल फित्र’ मनाइँदैछ ।
यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मावलम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ ।
चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात् व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि सोही शुक्रवारबाट व्रत बस्न सुरु भएको थियो भने हिजो साउदी अरब, मक्का मदिनामा चन्द्रमा देखिए पछि ‘इद उल फित्र’ पर्वको तिथी तय भएको हो ।
सोही अनुसार आज मनाउन लागिएको हो । जसअनुसार एक महिना अघि अरबिक क्यालेन्डर अनुसार रमाजान महिना सुरु भएको थियो ।
एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका धर्मावलम्बीहरु दिनमा भने निराहार बस्छन् । बिहानको समय ३:२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहार बस्ने व्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन छ ।