चालु आवको ७ महिनामा ३२ अर्बमाथिको आर्जन, ६२ अर्ब बाहिरियो

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा सेवातर्फको खर्च बढेको छ । केन्द्रीय बैङ्कका अनुसार, साउनदेखि माघ महिनासम्ममा सेवातर्फ कुल ३२ अर्ब २४ करोड रुपैयाँ आर्जन हुँदै गर्दा उता ६२ अर्ब ५७ करोड रुपैयाँ बराबरको खर्च बाहिरिन पुगेको हो ।
जसबाट आर्थिक वर्षको ७ महिनामा नै मुलुकलाई ३८ अर्ब ५५ करोड रुपैयाँ बराबरको घाटा लाग्न पुगेको छ । यद्यपी, समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय १०७.४ प्रतिशतले र भ्रमण व्यय ५६.६ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्ष यस्तो आय/व्यय क्रमशः १५ अर्ब ५४ करोड रुपैयाँ र ३९ अर्ब ९६ करोड रुपैयाँले घाटमा रहँदा कूल घाटा ५५ अर्ब ९ करोड रुपैयाँ पुगेको थियो ।
केन्द्रीय बैंककाअनुसार, चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक शिक्षा (एब्रोड स्टडी) का नाममा मात्र पौने ४४ अर्ब रुपैयाँ बराबरको नगद बाहिरिएको छ । समीक्षा अवधिमा सेवातर्फको खर्चमा नेपालबाट विभिन्न देशमा गरी कूल ४३ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३९ अर्ब ९६ करोड रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।