ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ना १ ज ८४७३ नम्बरको जिप दुर्घटना हुँदा चिशंखुगढी–३ का मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ओखलढुङ्गामा सवारी दुर्घटनमा परी घाइतेभएका १० जनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुर्घटनाका सबै घाइतेको तत्काल उद्वार र उपचार गर्न सचिवालयमार्फत निर्देशन दिएपछि नेपाली सेना र कैलाश एयरको हेलिकप्टरबाट उद्दार गरी उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको हो ।
दुर्घटनामा परी गम्भीर घाइतेहरु चिशंखुगढी गाउँपालिका–३ का चालक २५ वर्षिय सुमन कार्की, २६ वर्षे शर्मिला श्रेष्ठ, वडा नं. १ का २२ वर्षे खेमबहादुर खत्रि र वडा नं.२ का ४० वर्षे केन्द्रबहादुर कार्कीलाई उपचारका लागि कैलाश एयर हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
यस्तै, नेपाली सेनाको हेलिकोप्टरबाट चिशंखुगढी गाउँपालिका–२ की १३ वर्षे आयुशा श्रेष्ठ, सोही वडाका ५७ वर्षे तिलकुमारी श्रेष्ठ, सिद्धिचरण नगरपालिका–१० बेतेनीकी ४० वर्षे तुलसा धमला र उनका २ वर्षीय छोरा विनय धमला, चिशंखुगढी–३ की ४ वर्षीय लरिसा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीय तिर्थलक्ष्मी श्रेष्ठलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
उद्वार गरिएका सबै घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार सुरु भएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये जिल्लाको मोलुङ गाउँपालिका–१ की ३५ वर्षीय जानुका धमला र उनका ४ वर्षीय छोरा कोशिस धमलाको भने ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
