कैलाशका नागरिकले गाउँमै पाउने भए आँखा उपचार सुविधा

तु खबर संवाददाता
२०७९ फाल्गुन १२,शुक्रबार १८:१७

मकवानपुर । कैलाश गाउँपालिकामा सामुदायिक आँखा केन्द्र संचालनमा आउने भएपछि स्थानीय नागरिकले आफ्नै गाउँबाट आँखा उपचार सुविधा पाउने भएका छन् ।

मकवानपुरको विकट कैलाश गाउँपालिकाको कालिकाटारमा आँखा केन्द्र सञ्चालन गर्ने सम्बन्धी बिहीबार तिलगंगाा आँखा प्रतिष्ठान र गाउँपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएपछि यस्तो सुविधाको सुनिश्चितता भएको हो ।

तिलगंगा आँखा प्रतिष्ठान हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठ र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
आगामी चैत्रको अन्तिम सातादेखि सामुदायिक आँखा केन्द्र सञ्चालनमा आउने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।

‘अहिलेसम्म कैलाशमा आँखा सम्बन्धी उपचार गर्ने स्वास्थ्य केन्द्र नभएको अवस्थामा सामुदायिक आँखा केन्द्रको स्थापना पछि कैलाशका स्थानीयका साथै राक्सिराङ गाउँपालिकाका नागरिकले समेत सेवा प्राप्त गर्दछन् ।’ उनले भने, ‘अहिले पालिका भवनसँगै निर्माण भैरहेको अस्पतालको निर्माण कार्य सकिएपछि आँखा केन्द्रलाई सोहि अस्पतालबाट सञ्चालनमा ल्याइने छ ।’

सम्झौता अनुसार केन्द्रलाई आवश्यक पर्ने मेडिकल उपकरण प्रतिष्ठानले उपलब्ध गराउने हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

केन्द्रमा सम्पुर्ण किसिमको आँखा जाँच र चस्मा जाँच हुने गाउँपालिका अध्यक्ष मुक्तानले बताए । कैलाश–३ कालिकाटारमा रहने आँखा केन्द्रमा १ जना नेत्र सहायकसहित ३ जना कर्मचारी रहने उनले बताए । चैत्र अन्तिम साता कालिकाटारमा बृहत आँखा शिविर गरेर केन्द्रको उद्घाटन गर्ने तयारी रहेको उनको भनाई छ ।