छठ पर्वः राप्तीतटमा झकिझकाउ

सन्देश थिङ
२०७९ कार्तिक १२, शनिबार १५:५२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ स्थित राप्तीतटमा छठ पर्वको लागि आवश्यक तयारी सम्पन्न भएको छठ पुजा व्यवस्थापन समितिका सचिव नन्दलाल दासले जानकारी दिएका छन् ।

छठ पर्व मनाउन हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थिति रहने भएकाले राप्तीतटमा आवश्यक व्यवस्थापन मिलाइएको दासले बताए ।

भक्तजनहरुलाई पानी तथा सीतबाट जोगाउन पाल टाँगिएको उनले बताए । प्रहरीसँग समन्वय गरेर आवश्यक सुरक्षाको समेत प्रबन्ध मिलाइएको उनको भनाई छ ।

नदी वरपर सजावट गरी झकिझकाउ बनाइएको छ । आजै साँझबाट श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति रहने छठ पुजा व्यवस्थापन समितिका सचिव दासले बताए ।

सूर्य देवता एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त महत्वका साथ मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।

चारदिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुने गर्दछ ।