६७ औँ प्रहरी दिवस मनाइयो

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सोमबार ६७ औँ प्रहरी दिवस मनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयकी प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको
थियो ।
सो अवसरमा प्रमुख अतिथि राजेन्द्रदेव पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए । सो पश्चात कार्यक्रममा उपस्थित सबैले अमर प्रहरी स्मारकमा माल्यार्पण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले मुलुकमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्न प्रहरी निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताए । उनले नेपाली जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा संविधानको रक्षा गर्दै अघि बढ्न सबैलाई आग्रह गरे ।
त्यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बागमती प्रदेशमा प्रहरी प्रहरी ऐन ल्याइएको भएपनि त्यसलाई लागू गर्न केही जटिलता पैदा भइरहेको सन्दर्भमा संघ सरकारले त्यसलाई सहजिकरण गर्नुपर्ने उल्लेख गरे ।
प्रहरी सेवामा रही उत्कृष्ठ घोषित भएका अधिकृतहरु, प्रहरीलाई सेवा पुर्याउने विभिन्न संघसंस्था तथा निकायका प्रतिनिधिहरु र प्रहरीका परिवारलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँलगायत सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका उच्च पदस्थ अधिकारीहरु तथा संचारकर्मीहरुको उपस्थिति थियो ।