आयल निगमले दसैँ विदामा पनि डिपो खुल्ला गर्ने

तु खबर संवाददाता
२०७९ आश्विन १४, शुक्रबार १७:३१

काठमाडौं । नेपाल आयल निगमले दसैँ विदाका समयमा आफ्ना सबै डिपोहरु खुल्ला गर्ने भएको छ । निगमले एक सूचना जारी गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैंको विदामा १३ डिपोहरु खुल्ला रहने जानकारी गराएका हुन् ।

दसैँमा सार्वजनिक विदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि डिपोहरु खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुल्ला रहनेछन् ।

यसैगरी, लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णाली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरू खुला हुनेछन् । उता सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरू बिदाको दिनमा खुला रहनेछन् । यसैगरी नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरू पनि २१ गतेसम्म खुल्ला हुने बताइएको छ ।