सर्वसाधारणले भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउने

तु खबर संवाददाता
२०७९ भाद्र २१, मंगलवार १७:४२
file-photo

काठमाडौं । दसैं, तिहार र छठका लागि यही भदौं २९ गतेदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंंकले नजिकिँदै गरेको चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही सुविधाको मिति तोकेको हो ।

सर्वसाधारणले काठमाडौं उपत्यकामा भदौं २९ गते र उपत्यका बाहिर असोज २ गतेदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जनाएको छ ।

राष्ट्र बैंकले भदौं २६ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने उनले बताए । उनका अनुसार, गत वर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक÷एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको हो ।

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यलयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यलयनमा गएर पनि नयाँ नोट साट्न सकिने उनले बताए ।

राष्ट्र बैंकले बैंकहरुलाई नोट सटही सुविधा प्रदान गर्ने शाखा हेरर ५ देखि १० करोडसम्म प्रदान गरेको उनको भनाइ छ । राष्ट्र बैंकले नियमित रुपमा नै आफ्ना कार्यालयहरु र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको भएपनि चाडपर्वमा नयाँ नोट सटही उच्च हुने हुँदा राष्ट्र बैंक्ले सोही अनुसार व्यवस्थापन गर्दै आएको छ ।