स्थापना दिवसको अवसरमा सरसफाई र रक्तदान कार्यक्रमको आयोजना

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सरसफाई र रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सहकारीले आफ्नो १० औं स्थापना दिवसको अवसरमा पारेर सोमबार हेटौंडा–२ स्थित मनकामना चोक हुँदै मनकामना मन्दिर जाने बाटो हेटौंडा–५ स्थित सिँचाइ टोलसम्मको बाटो सरसफाइ गरेको हो ।
यस्तै, सहकारीले हेटौंडा–२ मकवानपुर बहुमुखी क्याम्पस अगाडि, वनस्खण्डी गेट, मनकामना चोकस्थित विभिन्न क्षेत्रमा ६० हजार रुपैयाँ बराबरको फोहोर फाल्ने २० वटा डस्टविन राखिएको संस्था व्यवस्थापक विनोद पौडेलले जानकारी दिए ।
संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम पनि गरिएको छ । रक्त सञ्चार केन्द्र हेटौंडाको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको व्यवस्थापक पौडेलले बताए । उनका अनुसार, उक्त रक्तदान कार्यक्रममा ३४ जनाले रगत दान गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष दिलिश गोविन्द जोशीको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा हेटौंडा–२ का वडाध्यक्ष विष्णु गोपाल महर्जन र हेटौंडा– ५ का वडाध्यक्ष सुशील घिमिरे, हेटौंडा उपमहानगरपालिकाका पूर्व मेयर हरिबहादुर महतलगायतको सहभागिता रहेको थियो ।