जग्गा फिर्ता गराइदिन मकवानपुर प्रशासनसमक्ष अपिल

तु खबर संवाददाता
२०७९ श्रावण १६, सोमबार १२:३१

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १३ का जगतबहादुर सुनारले आफ्नो जग्गा फिर्ता गराई पाउँ भनी सरोकारवाला निकायमा सहयोगको अपिल गरेका छन् । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमको कार्यकक्षमा पुगी उनले सहयोग अपिल गरेका हुन् ।

हेटौडा १३ निवासी जगतबहादुर सुनारको बाबुको नाममा रहेको जग्गा २०५४ साल बैशाख १९ मा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ बस्ने नियमराज शाक्यबाट ब्यवसायको क्रममा रु ५० हजार ऋण सापटी लिई दृष्टि बन्धक रोक्का राख्ने भनि सहमती भई मालपोत कार्यालयमा जाँदा निज नियम राज शाक्यले अनपढ बुवालाई झुक्याई राजीनामाको लिखत लेखी लेखाई बुवालाई बिश्वास दिलाई पछि रकम बुझीलिएका बखत जग्गा फकुवा गर्नेछु भनि बिश्वासमा पारी उक्त जग्गा दृष्टिबन्धकी भनि राजीनामा लिखत गरी राखेको अवस्थामा रहेको पिडित सुनारले गुनासो गरे ।

पिता पदमलाल सुनारको २०६३ सालमा मृत्यु हुँदाको समयसम्म रकम चुक्ता गरी रोक्का फुकूवा गर्न पटक पटक प्रयास गरी आएकोमा निज शाक्यले मालपोत कार्यालयमा गई एक पटक राजिनामाको लिखत लेखाई सके पश्चात रकम बुझीलिई जग्गा फिर्ता गर्नुपर्नेमा पछि ब्याजको बिषयमा बिवाद गरी मोठ रोक्का भिडाई जग्गा भने फिर्ता नदिई गएको पिडित सुनारको भनाई छ ।

निज शाक्यलाई पटक पटक भेटगरी ‘तपाईले राखेको धितो स्वरुपको जग्गा हामीलाई नामसारी गरीदिनुहोस्, रकम हिसाब गरी चुक्ता गर्नेछु’ भनि अनुरोध गदै आएको भएपनि शाक्यले भने आजभोलि भन्दै समय सार्दै आएकोे पिडित सुनारको भनाई छ । सम्मान पूर्वक बाच्न पाउने र सम्पत्तिको आर्जन, भोग र संरक्षण गर्न पाउने हक प्रत्येक नेपाली नागरीकलाई संविधानले नै प्रत्याभूत गरेको अवस्थामा शाक्यले विभिन्न व्यक्तिहरु पठाई जग्गा खाली गर्न तथा जोत कमोद नगर्न भनि धाँक धम्की दिने र जिउज्यान समेत लिनसक्ने अवस्था बनाई आफू र आफ्नो परिवारलाई मानसिक यातना दिई आएको सुनारले गुनासो गरे ।

उनले आफ्नो परिवारको शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाइदिन र उक्त पैतृक हकभोगको सम्पत्ति आफुलाई फिर्ता दिलाई दिन सरोकारवाला निकायहरुमा अपिल गरेका हुन् ।