बागमती प्रदेश : उद्योग मन्त्रालयलाई छुट्यायो ६५ करोड बजेट
मकवानपुर । बागमती प्रदेश सरकारले उद्योग मन्त्रालयलाई ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट घोषणा गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उक्त बजेट विनियोजन गरेको जानकारी दिए ।
यस्तै, प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशमा वन तथा वातावरण संरक्षणका काम गर्न उक्त बजेट विनियोजन गरेको उनले बताए । उनले वन जंगल विस्तार, सिमसार क्षेत्रको संरक्षणमा उक्त बजेट कार्यान्वयन गरिने बताए । उनले प्रदेशभित्रका नाङ्गा डाँडाहरूमा एक वर्ष भित्र १५ हजार विरुवा रोप्ने बताए ।
प्रदेश सरकारले मकवानपुरको मनहरी र सिन्धुलीको हरिहरपुरगढीमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्न १३ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने, एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउन १८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।
