जग्गा रोक्का राख्न नपाइने, बैंकमा धितो राखेर ऋण लिन ठप्प

काठमाडौँ । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले वर्गीकरण नगरी जग्गा रोक्का गर्न नपाइने निर्णय गरेसँगै बैंकमा जग्गा धितो राखेर ऋण लिन नपाइने भएको छ । मन्त्रालयले गत २७ गते मन्त्रीस्तरीय निर्णय गर्दै कृषि र गैरकृषि क्षेत्र वर्गीकरण नगरी जग्गा रोक्का गर्न नपाइने व्यवस्था गरेको थियो ।
मन्त्रालयका अनुसार वर्गीकरण निर्धारण गर्ने प्रयोजनका लागि स्थानीय भू–उपयोग परिषद्ले भू–उपयोग ऐन, र भू–उपयोग नियामवाली, २०७९ ले तोकेको मापदण्ड आधारमा कृषि क्षेत्र र गैर कृषि क्षेत्र वर्गीकरण गर्नुपर्ने छ । सो निर्णयसँगै मन्त्रालयले राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै जग्गा वर्गीकरण नगरेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको थियो ।
मन्त्रालयको निर्देशनपछि अब बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट धितो बन्धक पारित हुने खेतीयोग्य जमिन र गैर कृषि क्षेत्रको वर्गीकरण गरेपछि मात्र लिखत पारित गर्नु पर्नेछ । कित्ताकाटबाहेक धितो राख्न जाने जग्गा जमीनमा पनि स्थानीय तहले कृषि–गैरकृषि भनेर सिफारिस गरिदिएपछि मात्र मालपोतमा जग्गा रोक्का हुन्छ। जग्गा रोक्का भएपछि मात्र बैंकले ग्राहकलाई ऋण दिन्छ । सरकारको पछिल्लो निर्णयले जग्गा धितो राखेर बैंकबाट कर्जा लिनदिन ठप्प भएको हो ।