६७ अर्बको बजेट ल्याउने बागमती प्रदेश सरकारको तयारी

तु खबर संवाददाता
२०७९ जेष्ठ २६, बिहीबार १०:१६
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याउदैछ । गत जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले आगामी आव २०७९/०८० को लागि बजेट ल्याउने लागेको हो ।

प्रदेश सरकारले आगामी आवको लागि ६७ अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आवमा १० अर्ब बढाएर बजेट ल्याउने तयारी गरेको हो ।

बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले केहिदिन अघि हेटौंडामा आयोजित उद्योग वाणिज्य संघ बागमती प्रदेशको पाचौं प्रदेश सभालाई सम्बोधन गर्दै आगामी आवमा प्रदेश सरकारको बजेट चालु आवको तुलनामा १० अर्बसम्म बढेर आउनसक्ने बताएका थिए ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट ११ अर्ब रुपैयाँ पाउने भएको छ । संघीय सरकारले गत जेठ १५ गते ल्याएको बजेटमा बागमती प्रदेशलाई ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । चालु आवको तुलनामा प्रदेश सरकारले केन्द्रबाट पाउने बजेट निकै बढेकोले प्रदेश सरकारले पनि बजेटको आकार बढाउन लागेको आर्थिक मामिला तथा योजना मन्त्रालयका एक कर्मचारीले बताए ।