हेटौंडामा युवतीलाई छुरा प्रहार गर्ने यादव अझै फरार…

तु खबर संवाददाता
२०७८ चैत्र १३, आईतवार १६:०५

मकवानपुर । शुक्रबार साँझ हेटौंडामा एक युवतीलाई छुरा प्रहार गर्ने युवकलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन । हेटौंडा–२ निवासी २९ बर्षीय सिर्जन यादवले हेटौंडा–७ हरियालीमा बस्ने २४ बर्षीया शनिशा राईलाई छुरा प्रहार गरी फरार गरेका थिए । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते अनिशा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जालको सदस्य, सानाहातहरु नेपालको सदस्य, सुरक्षित वैदेशिक रोजगार परामर्श दाताको रुपमा कार्यरत रहेको थाहा लागेको छ । उनको काठमाडौंमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको भएपनि अवस्था भने चिन्ताजन रहेको प्रहरीको भनाई छ ।

घाइते राई मकवानपुर बहुमुखी क्याम्पसमा एमएडमा अध्ययनरत थिइन् । उनीमाथि छुरा प्रहार गर्ने युवकलाई पक्राउ गरी आवश्यक कारवाही गर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले सम्बन्धित निकायसमक्ष माग गरेको छ । अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पसका संयोजक विश्वास पराजुलीद्वारा जारी विज्ञप्तिमा यस्ता गतिविधिले महिला सुरक्षा तथा स्वतन्त्रतामा समेत खतरा देखिएको भन्दै आगामी दिनमा सुरक्षाको प्रत्याभूति गराउन प्रशासनको ध्यानाकर्षण गराइएको छ ।