स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा: हेटौंडामा एमाले बलियो, अन्य दलको अंकगणित यस्तो

मकवानपुर । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि मकवानपुरमा पनि चुनावी सरगर्मी सुरु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिका तथा १०२ वटै वडाको विभिन्न पदमा उम्मेदवार बन्न विभिन्न राजनीतिक दलका नेताहरुले आकाँक्षा देखाउन थालिसकेका छन् ।
बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका तथा राजधानीसमेत भएकोले हेटौंडाबाट निर्वाचित हुने जनप्रतिनिधिको राजनीतिक र रणनीतिक महत्व बढी रहेको छ । करिब ३ अर्ब रुपैयाँ बजेट रहेकोले हेटौंडाको नेतृत्व लिन नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रलगायत दलहरुका नेताहरुले तीव्र आकाँक्षा देखाउन थालिसकेका छन् । यसबाहेक अहिले एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि आकाँक्षा देखिएको छ । हेटौंडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी जसपालगायतका अन्य दलको पनि निर्णायक भूमिका भने रहेको छ ।
हामीले २०७४ साल जेठमा सम्पन्न निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा कुन दलको अवस्था कस्तो थियो भन्नेबारे केही बुझ्ने प्रयास गरेका छौँ । हाल केन्द्र सरकार र ७ वटै प्रदेशमा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेकपा एमाले तत्कालिन समयमा हेटौंडामा सबैभन्दा बलियो दलको रुपमा थियो । तत्कालिन समयमा कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवारलाई उछिन्दै एमालेले उपमहानगरको मेयर, उपमेयरसहित १२ वटा वडामा नेतृत्व गरेको थियो । बाँकी ५ वटा वडा कांग्रेस र २ वटा वडामा मात्रै माओवादीले जित्न सफल भयो ।
कसले कति मत पाए ?
२०७४ को स्थानीय निर्वाचनमा एमालेको तर्फबाट मेयरको उम्मेदवार हरिबहादुर महतले २३ हजार १२४ मत प्राप्त गरी जित हाँसिल गरे । माओवादी केन्द्र समेतको गठबन्धनबाट उम्मेदवार बनेका आनन्दराम पराजुलीलाई ६१५ मतले हराउँदै महत मेयर निर्वाचित भएका हुन् । पराजुलीले २२ हजार ५ सय ९ मत पाएका थिए ।
त्यस्तै मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट उम्मेदवार बनेका मधु अधिकारीले ६ हजार ८५७ मत ल्याए भने संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका शुभरत्न गोलेले १ हजार १०६ मत पाए । राष्ट्रिय जनमुक्ती पार्टीका सोमबहादुर घलानले ४१४ मत पाउँदा नेपाल कम्युनिष्ट पार्टी माक्सबादी–लेलिनवादीका उम्मेदवार भीमसेन महतले ३१५ मत ल्याए । राष्ट्रिय जनमोर्चाका ओविन्दबहादुर लुँइटेलले ३४ मत प्राप्त गरे भने मधेशी जनअधिकारी फोरमकी उमा कुमारी पौडेलले २९ मत पाइन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारहरु कृष्णदेव भण्डारीले ५३, सतार अंसारीले २७, दिपेन्द्र श्रेष्ठले ८, अजित विडारीले ८, राकेश कुमार शर्माले ३, देवनारायण चौँलागाईले १ मत पाए । त्यस्तै एमालेबाटै उपमेयरको उम्मेदवार बनेकी मिनाकुमारी लामाले पनि गठबन्धनका उम्मेदवार बलराम बललाई पराजित गरिन् । लामाले २३ हजार ४ सय ३७ मत पाइन् भने बलले १७ हजार ११ मत पाएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेकी इन्दिरा न्यौपानेले ७ हजार ७०२ मत पाउँदा तत्कालिन नयाँ शक्तिकी पुनम भट्टराइले १ हजार १५३ मत ल्याइन् ।
त्यस्तै राष्ट्रिय जनमुक्ती पार्टीकी दिपा घलानले २८२ मत, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी–लेलिनवादीकी रमा कुमारी खड्काले २१७, राष्ट्रिय जनमोर्चाकी हिरा कुमारी तिमल्सिनाले ३०, जनजागरण पार्टीकी निमटोल्माले २२२ मत पाए । स्वतन्त्र उम्मेदवार श्रीजना केसीले ४, मधुसुदन रेग्मीले १२, साधना राना मगरले १५, देवआनन्द रेग्मीले १ मत ल्याए ।
वडा तहमा कसको कति मत ?
कांग्रेस र माओवादीलाई उछिन्दै हेटौंडा उपमहानगरका १९ वडामध्ये १२ वडामा एमालेले नेतृत्व लियो । बाँकी ५ वडामा कांग्रेस र २ वडामा माओवादीले स्थान पायो । उपमहानगरको केही वडामा गठबन्धन भएको थियो भने केही वडामा कांग्रेस र माओवादी छुट्टा छुट्टै निर्वाचनमा गएका थिए । वडा नम्वर १ मा कांग्रेसका सविन न्यौपानेले १ हजार १४५ मत ल्याएर निर्वाचित भए भने एमालेका उत्तम शर्माले १ हजार ३६ मत पाए । वडा नम्वर २ मा एमालेका एमालेका हरिबहादुर राउत निर्वाचित भए उनले १ हजार ९७ मत पाउँदा गठबन्धनका दिनेश उपाध्यायले १ हजार २१ मत पाए ।
३ र ४ नम्वर वडामा एमालेका क्रमश रामप्रसाद पुडासैनी र नविन सिग्देल निर्वाचित भए । पुडासैनीले ८२४ मत पाउँदा कांग्रेसका ढलक थापाले ७९३ मत ल्याए भने सिग्देलले १ हजार ९ सय ८७ मत ल्याउँदा कांग्रेसका हरिप्रसाद पौडेलले १ हजार १९९ मत पाए ।
५ र ६ नम्वर वडामा कांग्रेसका क्रमश राजेश बानियाँ र अर्जुनप्रसाद चौँलागाई निर्वाचिन भए । बानियाँले १ हजार ८४८ मत पाउँदा एमालेका १ हजार ७४४ मत र चौँलागाई ९७५ मत पाउँदा एमालेका गणेश दुलालले ८६९ मत पाए । त्यस्तै क्रमश ७ मा राजन थापा (८८८), ८ मा गोपालबहादुर श्रेष्ठ (१५९६) ९ मा लक्ष्मण भण्डारी (१६७०), १० मा किताब सिं लामा (८५६) र ११ मा गोकर्णप्रसाद पराजुली (१४९३) निर्वाचित भए । ७ मा दामोदर गौतम, ८ मा हरिप्रसाद वाग्ले, ९ मा विश्वराज नेपाल, १० मा कालु घलान र ११ नम्वर वडामा अर्जुन कंडेल झिनो मतले पराजित भए ।
वडा नम्वर १२ मा ललित घलान (११०३) निर्वाचित भए । उनीसंग अर्नुन तिवारी (९९३) पराजित भएका हुन् । वडा नम्वर १४ मा मनोज कुमार वाइवा (८५५) निर्वाचित भए । उनीसंग कृष्णबहादुर थिङ (८४७) पराजित भए । १४ नम्वर वडामा माओवादीका दिपक खड्का (१२०३) निर्वाचित भए भने एमालेका सानु लामा (६४१) पराजित भए । १५ नम्वर वडामा कांग्रेसका महारत्न लामा (१३४३) निर्वाचित हुँदा एमालेका सुनिल मोक्तान (१२८८) ले पराजय व्यहोरे ।
१६ नम्वर वडामा कांग्रेसका रामकृष्ण कोइराला (८४७) निर्वाचित हुँदा एमालेका गोविन्द दाहाल (८१९) पराजित भए । वडा नम्वर १७ मा एमालेका भैरवबहादुर राई (११८१) निर्वाचित हुँदा कांग्रेसका दामोदर सुवेदी (९१६) पराजित हुन पुगे । १८ र १९ नम्वर वडामा एमालेकै अनिलकुमार बानियाँ (१०५९) र नरनाथ सुवेदी (१०३६) निर्वाचित भए । १८ नम्वर वडामा दिलबहादुर सुवेदी (१०३६) र १९ मा राजकुमार भेटवाल (७६०) पराजित भए ।
हाल हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार भीमसेन महत कांग्रेस प्रवेश गरेका छन् भने एमालेबाट उपमेयर जितेकी मिना लामा एकपा एकीकृत समाजवादी प्रवेश गरेकी छिन् । त्यस्तै लामासंग पराजित भएका माओवादीका बलराम बल अहिले एमालेमा प्रवेश गरेका छन् । त्यस्तै गठबन्धन (माओवादी) बाट जितेका १४ नम्वर वडा अध्यक्ष दिपक खड्का एमालेमा प्रवेश गरेका छन् । अन्य केही सदस्यहरु विभिन्न राजनीतिक दलमा आउजाउ गरिरहेका छन् ।
यसअघि उपमहानगरका केही वडा अध्यक्षको लागि मात्रै गठबन्धन गरिएको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको – सम्पादक ।