मकवानपुरको लोपोन्मुख वनकरियालाई ४ दिने तालिम

तु खबर संवाददाता
२०७८ पुष २८, बुधबार ०८:३१

मकवानपुर । मकवानपुरको मनहरीमा आयोजित लोपोन्मुख आदिवासी वनकरिया जातिका किशोरीहरुलाई नेतृत्व विकास तथा वकालतसम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, काठमाडौंले आयोजना तथा क्यानडा सरकारको सहयोग आयोजित उक्त तालिम मंगलबार सम्पन्न भएको हो ।

मनहरी गाउँपालिका–४ हाँडिखोलास्थित वनकरिया टोलमा आयोजित ४ दिने तालिममा वनकरिया समुदायका २२ जना सहभागी थिए । तालिममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यसोकान्ति भट्टचनले आदिवासी, आदिवासी महिला, नेतृत्व विकास, संस्थागत विकास, अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ), आईएलओको धारा १६९, आदिवासीहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र (यूएनड्रीप), महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलनसम्बन्धी महासन्धी (सिड), जलवायु परिवर्तनलगायतको विषयमा प्रशिक्षण दिएकी थिईन् ।

मनहरी–४ का वडाध्यक्ष ध्रुब खड्काको प्रमुख आतिथ्य तथा वनकरिया महिला विकास संघकी अध्यक्ष सन्तमायाँ बनकरियाको अध्यक्षतामा भएको कार्यक्रममा मृतक आमा–बुवाको स्मृतिमा सहयोगी हातहरुबाट प्राप्त ६० हजार रुपैंयाबाट बनकरिया बृद्ध, महिला, युवा, किशोरकिशोरी र बालबालिकालाई जाडोको टोपी, पछ्यौरा, ट्रयाकसुट लगायतका कपडा हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी फिल्ड संयोजक सनिला लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठलगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा सहभागी किशोरी, महिलाहरुले तालिम धेरै जानकारीमुलक रहेको भन्दै नेतृत्व विकाससँगै आफ्नो अधिकार प्राप्त गर्न सहयोग पुग्ने बताए ।