हुम्लाको लिमीमा सकियो जनगणना

रासस
२०७८ मंसिर ७,मंगलवार १४:४६

सिमकोट । राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको मूल जनगणना यही मङ्सिर ९ गते सकिँदैछ । जनगणना कार्यालयका प्रमुख विनोद भट्टका अनुसार उत्तरी भेगको नाम्खा गाउँपालिका–६ लिमीमा जनगणना सम्पन्न भएको छ । निर्धारित समयअगावै स्थानीय गणकले विवरण सङ्कलनको काम सम्पन्न गरेका हुन् ।

लिमीको हल्जी, तिल र जाङ्ग गाउँमा विवरण सङ्कलन सकिएको गणक तन्जिन फुर्बु तामाङले जानकारी दिए । सात गाउँपालिका रहेको हुम्लामा ४४ वडा छन् । जिल्लाका ४४ मध्ये वडा नं ६ लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ । गणक सदरमुकाम सिमकोटबाट चार दिन हिँडेर लिमी पुगेका थिए । उनीहरुले गत मङ्सिर २५ गतेदेखि विवरण सङ्कलन सुरु गरेका थिए । गणक तामाङले स्थानीयवासीको सहयोगमा समयभन्दा अगावै प्रश्नावली भर्ने काम सम्पन्न भएको बताए । यसपटकको गणनामा लिमीका १४७ घरधुरीको विवरण सङ्कलन भएको छ ।

जडीबुटी सङ्कलनले गणकलाई फारम भर्न समस्या
जिल्लाका अधिकांश नागरिक यतिबेला वनमा जडीबुटी सङ्कलन गर्न गएका छन् । यसले उनीहरुको विवरण सङ्कलन तथा फारम भर्न समस्या भएको प्रमुख भट्टले बताए । “अधिकांश नागरिक जडीबुटी सङ्कलनका लागि वनपाखातिर गएका छन्”, उनले भने । जडीबुटी सङ्कलन गर्न गएका कारण समस्या भएको गणकले गुनासो गरेका छन् । सिमकोट–१ र २, खार्पुनाथ गाउँपालिका–२, ३ र ५, चङ्खेली गाउँपालिका–५ का बासिन्दा यतिबेला जडीबुटी सङ्कलन गर्न वन गएका छन् । उनीहरु पुसपछि मात्रै घर फर्किन्छन् ।