बागमतीबाट विप्लवका ५० जना कार्यकर्ता पक्राउ

तु खबर संवाददाता
२०७८ कार्तिक ३०, मंगलवार १६:२५

मकवानपुर । बागमती प्रदेशको विभिन्न स्थानबाट प्रहरीले विप्लवका ५० जना कार्यकर्ता पक्राउ गरेको छ । प्रदेशको काठमाडौं उपत्यका बाहेकका १० जिल्लामा बन्द गराउँदै हिँडेका केही व्यक्तिलाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव माहानिरीक्षक प्रकाशजङ्ग कार्कीका अनुसार, बन्द कार्यान्वयन गराउन हिँडेका ५० जना बढी व्यक्तिलाई पक्राउ गरेको हो । बजार क्षेत्रको चोक चोकमा जम्मा भएर यातायातका साधनको चाबी खोस्ने, नाराबाजी गर्ने जस्ता कार्य गरेका कारण उनीहरुलाई प्रहरीले पक्राउ गरेको कार्कीले बताए ।उनका अनुसार, प्रहरीले सिन्धुलीमा बन्द गराउँदै हिँडेका २६ जना, काभ्रेमा १४ र चितवनमा ११ जनालाई पक्राउ गरेको हो । आज प्रदेशका १० जिल्लाका मुख्य बजार, उद्योग तथा कलकारखाना, विद्यालय लगायतका क्षेत्रहरु पूर्ण रुपमा बन्द छन् ।

सडकमा बन्दकर्ता नभए पनि बन्दको असर देखिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बन्दमा हालसम्म प्रदेशका कुनै पनि जिल्लामा तोडफोड, आगजनीजस्ता घटना नभएको कार्कीले बताए । बन्दका कारण प्रदेशको मकवानपुर जिल्लामा पनि सार्वजनिक सवारीसाधन निकै कम मात्र निकै कम मात्रामा चलेका छन्, जसका कारण काम विशेषले गन्तव्यसम्म जान चाहानेहरुले सास्ती खेप्नु परेको छ ।

बन्दले पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ कान्तिलोकपथलगायतका सडकखण्डहरुमा सार्वजनिक सवारी साधन निकै कम चलेका छन् । हेटौंडाबाट संघीय राजधानी काठमाडौँ, नारायणगढ तथा मुग्लिनखण्ड, वीरगंज हुँदै गन्तव्यतर्फ प्रस्थान गर्ने यात्रुहरु सार्वजनिक सवारी कुरिरहेका छन् । हेटौंडा बजार क्षेत्रमा कार, मोटरसाइकल लगायतका सवारी चलिरहेका छन् । तर, ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् । बजार क्षेत्रका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । हालसम्म बन्दको क्रममा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।