विप्लव समूहका ६ जना कार्यकर्ता पक्राउ

काठमाडौं । प्रहरीले नेपाल बन्द गराउँदै हिँडेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) का ६ जनालाई पक्राउ गरेको छ । साँखु र महाराजगञ्जबाट ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेहरुमा विप्लव समूहका काठमाडौं जिल्ला सदस्य रामकृष्ण गिरी, भुवन तामाङ र सुकबहादुर तामाङसहित ६ जना रहेका छन् । पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिको बिरुद्ध मंगलबार सो समुहले नेपाल बन्द आयोजना गरेको छ ।
यस्तै, नेपाल बन्द गराउन सडकमा खटिएका ११ जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले दमौलीबाट पक्राउ गरेको हो । ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिए । पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उनले माग गरेका छन् । नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ ।