प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त राईले आज साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् । आज प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक बस्दैछ ।
बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए । सोमबार सत्तारुढ पाँच दलिय गठबन्धनको बैठक बसेको थियो । बैठकले कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने कार्यदल पनि गठन गरेको थियो । बैठकले गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र राईको पक्षमा मतदान गर्ने निर्णय गरेको उनले बताए ।
प्रदेश १ मा हाल ९३ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । जसमा सरकारमा सहभागी पाँच दलीय गठबन्धनमा ५० सांसद छन् । प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।