क्षेत्र नम्वर १ प्रदेशसभा (ख) मा बानियाँको उम्मेदवारी

मकवानपुरमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी पुनः सुरु भएको छ । कांग्रेसले मकवानपुरका १० वटै स्थानीय तहका १०२ वडा र पालिका स्तरमा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको राजनीतिमा बिगतको तुलनामा यो पटक युवा पुस्ताको सक्रियता बढेको छ ।
मकवानपुरको प्रतिनिधिसभा १ अन्तरगत प्रदेशसभा (ख) को सभापति पदमा युवा नेता राजेश बानियाँले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को वडा अध्यक्ष निर्वाचित भएका बानियाँले अब प्रदेशसभा क्षेत्र (ख) को सभापतिमा आफ्नो उम्मेदवारी अघि सारेका हुन् । क्षेत्र १ को प्रदेश सभा (ख) अन्तरगत हेटौंडा उपमहानगरको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १०, १२,१३, १४, १५ वडाहरु पर्दछन् ।
२०३६ साल बैशाख २९ गते मकवानपुरको हेटौंडामा जन्मिएका बानियाँले बालज्योति उच्च माध्यामिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरे र मकवानपुर बहुमुखी क्याम्पसबाट वाणिज्य संकायमा स्नातकसम्मको अध्ययन पुरा गरे । १५/१६ बर्षको उमेरमा कांग्रेसको साधारण सदस्य भएका उनले तरुण दल र अन्य भातृ संगठनमा रहेर काम गरेको अनुभव बटुलेका छन् ।
समाजमा भएका विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै समाज रुपान्तरणको लागि केही गर्नुपर्छ भन्ने मान्यताले बानियाँलाई राजनीतिमा निरन्तर क्रियाशील रहन प्रेरित गरिरह्यो । राजनीतिसंगै सामाजिक सेवाका काममासमेत उनको उपस्थिति बलियो देखिन्छ । उनले २०६८ सालमा कपडा व्यवसायी संघ मकवानपुरको संस्थापक अध्यक्ष भएका काम गरे । लायन्स क्लबको संस्थापक अध्यक्षसमेत रहेका बानियाँ उद्योग वाणिज्य संघको सदस्यको जिम्मेवारीमा रहेर कार्यकुशलता प्रदर्शन गरे ।
राजनीतिक र सामाजिक सक्रियताकै कारण वडावासीमाझ लोकप्रिय भएका बानियाँ २०७४ वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनबाट हेटौंटा उपमहानगर वडा नम्वर ५ को अध्यक्ष निर्वाचित भए । जनप्रतिनिधि निर्वाचित भएपछि सरकारबाट आएको सुविधा सामाजिक काममा खर्चने कमै भेटिन्छन् । तर, बानियाँले भने आफ्नो पारिश्रमिक बालबालिकाका लागि खर्च गर्ने गरेका छन् ।
चुनावी अभियानकै बेला सरकारी सुविधा मतदातालाई नै खर्चिने बाचा गरेका उनले निर्वाचन भएको ४ बर्ष पुग्दासम्म उपमहानगरको शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा खर्च गर्दै आएका छन् । ‘मासिक २८ हजार ७ सय १० रुपैयाँ तलबबापत आउँछ । जसमध्ये म आफैँले अध्ययन गरेको बालज्योति उच्च माध्यमिक विद्यालयमा मासिक २० हजार र श्री लक्ष्मी आधारभुत विद्यालयमा ८ हजार ७ सय १० रुपैयाँ गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि उपलब्ध गराउँदै आएको छु ।’ उनले भने ।
वार्षिकरुपमा पारिश्रमिकवापत आउने ३ लाख ४४ हजार ५२० रुपूयाँ नियमित ३ वर्ष स्थानीय बालज्योति माबिको ३ कोठे भवन निर्माणको लागि दिएको उनले
बताए । विद्यालयले कक्षा कोठा अभाव भएको जानकारी गराएपछि १५ लाख रुपैयाँ खर्चेर भवन निर्माण गरिदिएको उनले बताए । उनले स्वास्थ्य उपचारको लागि सहज होस भन्दै सामुदायिक प्रहरी सेवा केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरे । एम्बुलेन्स खरिदको लागि १४ लाख ५० हजार रुपैयाँ खर्चेको उनी बताउँछन् । सो रकम रकम पारिश्रमिकबाहेक व्यक्तिगत पनि भएको उनको भनाइ छ ।
बानियाँले व्यक्तिगत खर्चमा वडावासीको १ सय २५ भन्दा बढी आर्थिक रुपमा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् । हेटौँडा उपमहानगरले वडाअध्यक्षका लागि मोटरसाइकल बाँडेको थियो । काममा सहजता र छिटो हुने तर्कसहित उपमहानगरले मोटरसाइकल बाँडे पनि अध्यक्ष बानियाँले लिएनन् । उनले मकवानपुरका १०२ वडामध्ये आफ्नो वडालाई उत्कृष्ट सावित गराए ।
आफ्नो चाहाना वडातहसम्म कांग्रेसको संगठन चुस्त दुरुस्त बनाउने, कुशल एवम् व्यवस्थित संगठन विस्तार गर्ने र गुट उपगुटको राजनीति अन्त्य गर्दै पार्टी र कार्यकर्ताप्रति इमान्दार नेतृत्व चयन गर्ने रहेको बताए । युवाशक्तिले राजनीतिको माध्ययमबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने र राजनीति नै समाज परिवर्तनको सम्बाहक भएको उनको बुझाई छ ।