आज हरिबोधिनी एकादशी, विष्णुको तुलसीसँग विवाह गर्ने दिन

मकवानपुर । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्व मनाइदै छ । आजैका दिन असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिएको औषधिको गुणले युक्त तुलसीको आजै विवाह गरिदिने प्रचलन रहेको छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ ।तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो ।
तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । आजका दिन नारायण स्थान र मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।