विद्यार्थीहरुले मागे आयल निगमका कार्यकारी निर्देशक पौडेलको राजीनामा

तु खबर संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार १४:३३
file-photo

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । शुक्रबार बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै ती विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका छन् ।

विद्यार्थी संगठनका नेताहरुले आम जनता र विद्यार्थीलाई चुलोसमेत बल्न नदिने गरी एलपी ग्याँसलगायत पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनासमेत माग गरेका हुन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध विद्यार्थीहरुले नेताहरुले आयल निगमका ‘भ्रष्ट’ कर्मचारीहरुलाई सामाजिक रुपमा बहिष्कार गर्न आह्वान समेत गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनहरुले जनतालाई आहात हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेताहरुलाई पनि दबाब दिइरहेका छन् ।