जीप दुर्घटना एकको मृत्यु

रासस
२०७८ कार्तिक २२, सोमबार १५:१३

दाङ । सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको यात्रुबाहक जीप दाङको बबई गाउँपालिका–२ एक्लेबरमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घाइते १९ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप चालक फरार रहेको र खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँ । काठमाडौँको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको रुखमा ठोकिएर दुर्घटना हुँदा गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका २२ वर्षीय स्वच्छन्द पुडासैनीको आइतबार राति मृत्यु भएको हो । सख्त घाइते पुडासैनीको उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।