कांग्रेस मकवानपुरको सांस्कृतिक विभागद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सांस्कृतिक विभागले शुभ दिपावली, नेपाल सम्बत्, छठ पर्वको अवसरमा हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । विभागले बुधबार हेटौंडाको रोयल पार्टी प्यालेसमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपालका चर्चित गायक सुगम पोखरेल, कृष्ण काफ्ले, गायिका राधिका हमाल, प्रतिमा अर्याल, बालगायक चिराग डंगोल लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।
सांस्कृतिक विभाग प्रमुख सुशान्तकुमार श्रेष्ठको अध्यक्षता एवम् कांग्रेस नेता विजय कार्कीको संयोजनमा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि बानियाँले तिहारलगायतका चाडलाई सभ्य रुपमा मनाउन अनुरोध गरे । उनले चाडपर्वले सामाजिक एकता कायम राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी नीर शाह, नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालसहितको टिमलाई सम्मान गरिएको थियो ।