‘प्रधानन्यायाधीशले चाँडै पदबाट राजीनामा दिनुपर्छ’

मकवानपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले चाँडै नै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । कांग्रेस मकवानपुरले शुभ दिपावली, छठ पर्वको अवसरमा मंगलबार हेटौंडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।
प्रधानन्यायाधीश राणाले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने पौडेलले बताए । उनले भने, ‘प्रधानन्यायाधीश राणाले न्यायालयमा गरेका सेटिङ विस्तारै बाहिर आइरहेको छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश राणाले मान मर्यादाका लागि भए पनि पदबाट राजीनामा दिनु उपयुक्त हुन्छ । नत्र अपमानजनक बर्हिगमन निश्चित छ ।’
प्रधानन्यायाधीशले विगतका प्रधानमन्त्रीहरुसँग गरेको सेटिङका कारण अहिलेको न्यायालय नै विवादमा फसेको उनको भनाई छ । ‘प्रधानन्यायाधीश संवैधानिक निकाय र राजदूत नियुक्तिमा गरेको सेटिङका कारण न्यायालयमा अहिलेको यो अवस्था आएको हो । अहिले सर्वोच्च अदालत ध्वस्त भएको छ ’ नेता पौडेलले भने । उनले फरक प्रशंगमा नेपाली कांग्रेस पार्टी कसैको भरमा खडा नभएको बताउँदै कांग्रेसको इतिहास र अस्तित्व कोही कसैको भरथेगबाट स्थापित नभएको जिकिर गरे । नेता पौडेलले अरूको वैशाखी टेकेर उभिने पार्टी कांग्रेस हुन नसक्ने दावी गरे ।
उनले वर्तमान परिस्थितिमा कांग्रेस पाटी भित्रै आन्तरिक शुद्धीकरणको आवश्यकता रहेको बताए । नेता पौडेलले पार्टीको क्रियाशील सदस्यको विवादले पार्टीलाई थप कमजोर बनाएको बताउँदै कांग्रेसले परिस्थिति र आवश्यकताको आधारमा निर्णय गर्ने क्षमता गुमाइसकेको र सरकारको नेतृत्व लिएको ३ महिनासम्म मन्त्रीहरूको नियुक्ति हुन नसक्नुले नै काँग्रेसको निर्णय क्षमता छर्लङ्ग भएको बताए । पार्टी संगठनभित्र तानाशाह प्रवृत्ति हावी भएको भन्दै उनले पार्टीको महाधिवेशन गरेर पाटी भित्रको तानाशाही प्रवृत्ति हटाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, महालक्ष्मी उपाध्याय डिना, जिल्ला सभापति इन्द्रबहादुर बानियाँ लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णु लामिछाने, प्रमुख सल्लाहकार रामचन्द्र अर्याल माइकल, सल्लाहकार प्रभात दाहाल, प्रवक्ता प्रदिप कोइरालासहित कार्यसमितिका पदाधिकारीहरु, विभिन्न भातृ एवं शुभेच्छुक संगठनका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।