अर्थमन्त्री जनार्दन शर्मा भोलि हेटौंडा आउँदै
मकवानपुर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संघीय अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) हेटौंडा आउने भएका छन् । मन्त्री शर्मा नेकपा (माओवादी केन्द्र) का सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा नगरको भोलि (आईतबार) हुने सम्मेलनलाई सम्बोधन गर्न हेटौंडा आउने भएका हुन् ।
नेकपा एकता विभाजनपछि हुने भएको माओवादी हेटौंडा नगरकोे प्रथम सम्मेलनलाई सम्बोधन गर्न शर्मा हेटौंडा आउन लागेको केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए । उनका अनुसार, शर्मासँगै वाइसीएल केन्द्रीय इन्चार्ज राम प्रसाद सापकोटा (दीपशिखा), संयोजक सुमन देवकोटा (अब्दुल) पनि हेटौंडा आउने भएका छन् ।
सम्मेलनलाई पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, पार्टी मकवानपुर जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु) लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख पाख्रिनले बताए । आइतबार हुने सम्मेलनले वाइसीएल हेटौंडा उपमहानगर कमिटीको नयाँ नेतृत्वसहितको कमिटी निर्माण गर्ने जनाइएको छ ।
