‘मउवा संघलाई उद्योगी व्यवसायीप्रति थप जिम्मेवार बनाउन पहल गर्छु’
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उद्योगतर्फको सदस्य पदका उम्मेदवार नरेन्द्र भण्डारीले उद्योगी व्यवसायी तथा उपभोक्ताको हकहितका लागि काम गर्ने प्रतिवद्धतासहित आफ्नो उम्मेदवारी रहेको बताएका छन् । मउवा संघको वर्तमान कार्यसमितिमा सदस्य पदमा रहेर काम गरेको अनुभव बटुलिसकेका उनले संघलाई उद्योगी व्यवसायीप्रति थप जिम्मेवार बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।
निरिक्षा निर्माण सेवा प्रा.लिका संचालकसमेत रहेका भण्डारीले उद्योगी व्यवसायी र मउवासंघबीच आवश्यक सहयोग, सहकार्य तथा समन्वयका लागि एउटा पुलको निर्माण गर्नुपर्ने आवश्यकता रहेको र आफु निर्वाचित भएमा त्यसका लागि पहल गर्ने बताए । सानादेखि ठूला उद्योगी व्यवसायीहरुको समस्या पहिचान गर्न आफै घरदैलोसम्म पुग्ने र समाधानको लागि प्रयास गर्ने उनको भनाई छ ।
उद्योगी व्यवसायीहरुले अहिले कर सम्बन्धी निकै जटिलता व्यहोर्नुपरेको बताउँदै उनले व्यवसायीलाई कसरी सहजता प्रदान गर्न सकिन्छ, आफू सोही विषयमा केन्द्रित भएर काम गर्ने बताए । निर्माण सामग्रीसँग सम्बन्धित समस्याहरुको सम्बोधन गर्न पनि आफ्नो निरन्तर पहलकदमी हुने उनको भनाई छ ।
संघमा विभिन्न कारणले आवद्ध हुन नसकेका र दुरदराजसम्मका र साना तथा ठूला व्यवसायीहरुलाई संधमा आबद्ध गराउने र सम्पूर्ण व्यवसायीहरुलाई कर सम्बन्धी आधारभूत र विशेष तालिम निःशुल्क उपलब्ध गराउन पहल गर्ने भण्डारीको योजना छ । राजकुमार न्यौपाने प्यानल उम्मेदवार बनेका भण्डारीले मउवा संघलाई प्रविधिमैत्री बनाउँदै साना तथा घरेलु उद्योग र आन्तरिक राजश्व कार्यालयमा ३६५ दिन नै हेल्प डेक्सको स्थापना गरी व्यवसायीहरुलाई सहजिकरण गर्न लागिपर्ने बताए ।
भण्डारी हेटौंडा जेसीजको सदस्य, पशुपतिनगर लायन्स क्लबको सदस्य, नेपाल रेडक्रश सोसाइटीको सदस्य र नेपाल बुद्धिचाल संघ बागमती प्रदेश समितिको कोषाध्यक्षलगायतका विभिन्न सामाजिक संघ/संस्थामा रहेर उनले काम गरेको अनुभव संगालिसकेका छन् । संघको ५४ औँ साधारणसभा तथा अधिवेशन कात्तिक ७,८ र ९ गते हुँदैछ । उद्योगतर्फ करिब ८९० मतदाता रहेको उद्योग वाणिज्य संघ मकवानपुरले जनाएको छ ।
