मउवा संघ निर्वाचनः अध्यक्षमा न्यौपाने र अग्रवाल भिड्दै
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ५४ औँ साधारणसभा तथा निर्वाचन कार्तिक ७ गतेदेखि ९ गतेसम्म हुने गरी तय भएको छ । कोरोना संक्रमणको जोखिमका कारण पटक–पटक सारिँदै आएको निर्वाचनको मिति तय भएपछि चुनावी सरगर्मी पनि बढेको छ । व्यवसायिक हितका एजेण्डा बोकेर व्यवसायीका नेताहरु निर्वाचनका लागि दौडधूप गरिरहेका छन् ।
संघको अध्यक्ष पदमा हालका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, र निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेबीच निर्वाचन हुने पक्कापक्की देखिएको छ । यसअघि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका संघका पूर्वमहासचिव महेन्द्र राउत अहिले भने मौन देखिएका छन् । हालका अध्यक्ष कृष्ण कटुवालसंग १ सय ८८ मतले पराजित भएका राउतले अघिल्लो निर्वाचनको मतको सम्मान र व्यवसायीको हितका लागि यसपटक आफ्नो उम्मेदवारी रहेको बताउँदै आएको भएपनि चुनावी अभियानमा उनको उपस्थिति देखिएको छैन ।
अध्यक्ष पदका दुवै आकाँक्षीहरु अग्रवाल र न्यौपानेले आफ्नो चुनावी प्यानलसमेत घोषणा गरिसकेका छन् । अग्रवालको प्यानलमा वाणिज्य तपर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रमोदसिंह रानाभाट, एसोसियटतर्फको उपाध्यक्ष पदमा विष्णु खनाल, बस्तुगततर्फको उपाध्यक्ष पदमा काब्यमणि अधिकारी उम्मेदवार रहेका छन् ।
त्यस्तै सदस्यहरुमा कुलप्रसाद चौँलागाई, जावेद हुसेन, गणेशप्रसाद भेटवाल, पुष्पराज पुडासैनी, कृष्णप्रसाद ढुंगाना, निलम बैद्य, भुपेन्द्रप्रसाद अधिकारी, अंकिता सुमार्गी, प्रदिप अर्याल, दिपक खत्री, निमल पाण्डे श्रीकृष्ण कर्माचार्य, राजाराम कार्की, अनिलभक्त श्रेष्ठ, विकेशलाल श्रेष्ठ, कृष्णहरि बर्तौला, रुपकराज दाहाल, दिपक उप्रेती, दामोदर पाठक, र सितादेवी भेटुवाल रहेका छन् ।
यता, राजकुमार न्यौपानेको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्ष पदमा रामप्रसाद न्यौपाने, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रतिमा श्रेष्ठ, एशोसियटतर्फको उपाध्यक्षमा उज्वल चौलागाईँ र वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारी उम्मेदवार रहेका छन् । त्यस्तै सदस्य पहको उम्मेदवारहरुमा नवराज खतिवडा, राजु थापा, अशोककुमार राउत, अजिव भट्टराई, तेजराज अधिकारी, दिपक शिवाकोटी, ज्ञानेन्द्र बर्तौला, मेनका श्रेष्ठ, नरेन्द्र भण्डारी, हरिप्रसाद ढकाल, माधव ज्ञवाली, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, सुदर्शन पराजुली, विष्णु दाहाल, बालकृष्ण बजगाईँ, हरिनारायण ठाकुर, मनु दाहाल, नेत्र कुमारी भक्त अग्रवाल, राजु राउतलगायतत रहेका छन् ।
निर्वाचनको तयारी पूरा
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले संघको साधारण सभा तथा निर्वाचनको लागि आवश्यक तयारी पूरा भएको बताएका छन् । कार्तिक ७, ८ र ९ गते हुने साधारणसभा तथा निर्वाचनमा कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै उपस्थित हुने सम्पूर्ण व्यवसायी तथा मतदाताहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न लगाइने उनले बताए ।
संघका कानूनी सल्लाहकार अधिवक्ता इश्वरराज ढकालको संयोजकत्वमा ५ देखि ७ सदस्यीय निर्वाचन समिति बनाइने संघको तयारी छ । पल्पसा सभागृहमा हुने मतदानको लागि मतपत्र छाप्ने, मतदातालाई निमन्त्रणा गर्ने लगायतका केही कामहरु भने भईरहेको अध्यक्ष कटुवालले बताए ।
उनले निर्वाचन सभ्य र निश्पक्ष तरिकाले सम्पन्न गर्न आवश्यक तयारीमा पूरा भएको जानकारी दिए । निर्वाचित सदस्यहरुबाट १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष र १ कोषाध्यक्ष मनोनित हुनेछन् । त्यस्तै थप ३ जना सदस्य मनोनित गरिने जनाइएको छ । संघको समितिमा १२ जना पदाधिकारी र २० जना सदस्य गरी कूल ३२ जना रहने जनाइएको छ ।
