रसुवागढी नाकाबाट विद्युतीय कार आयात सुरु

तु खबर संवाददाता
२०७८ आश्विन १६, शनिबार १२:१५

काठमाडौँ । नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् । यातायातको पहुँचलाई सरलीकृत गर्न विद्युतीय कार आयात गर्न थालिएको हो । आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन नियमानुसार भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । आयात भएका कारमा पाँच जनासम्मको यात्रा सहज हुने बताइएको छ । कारबाट भन्सार शुल्कबापत रु १० करोड ९८ लाखभन्दा बढी रकम राजस्व असुली भएको छ । धुँवा तथा आवाजरहित भएका कारण नयाँ आयात भएका चिनियाँ कारले सवारी प्रदूषणमा न्यूनीकरण गर्ने र यात्रामा समेत सहज पार्ने जनाइएको छ ।

रसुवागढी नाकाबाट हालसम्म आयात भएका अन्य सवारी साधनमध्ये पछिल्लो समय नेपाल भित्रिएका ती कार नयाँ मोडलका देखिएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिनुभयो । डिजेल पेट्रोलजस्ता इन्धनबाट चल्ने अन्य सवारी साधनभन्दा चिनियाँ विद्युतीय कार गुडाउन अत्यन्तै सहज हुने बताइएको छ ।