अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध

तु खबर संवाददाता
२०७८ आश्विन ३, आईतवार १७:४५

काठमाडौँ । लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेको विषयमा न्यूज कारखानाले समाचार लेखेको छ । समूहले मुस्लिम धार्मिक कानूनको थप अध्ययन र व्याख्या गरेर महिलालाई पढ्न अनुमति दिइने तालिवान अधिकारीहरूले बताएका छन् । गत महिना सत्ता कब्जा गरेका तालिवानले आफूहरूले महिला र पुरूषलाई भेदभाव नगर्ने बताएका थिए ।

केही समयअघि तालिवानले विश्वविद्यालयमा महिला र पुरूष विद्यार्थीले अलग–अलग पढ्नुपर्ने नियम बसालेका थिए । त्यस्तै, सुरक्षा अवस्थामा सुधार नआउन्जेल कामकाजी महिलालाई घरमै बस्न तालिवानले निर्देशन दिएको थियो । पछिल्लोे निर्णयसँगै अधिकांश अभिभावक र छात्राहरू तालिवान सरकारसँग झस्किएका छन् । तालिवान महिलाप्रति पहिला जस्तै कठोर बन्न खोजेको धेरैले आशंका गरेका छन् । सन् १९९० को दशकमा सत्तामा हुँदा तालिवानले बालिका र महिलाको अधिकारमा अंकुश लगाएको थियो । अफगान माध्यमिक विद्यालय १३ देखि १८ वर्षको उमेर समूहका विद्यार्थीका लागि लक्षित छन् । छात्र र छात्रा पढ्ने विद्यालय अलग छन् ।