दशैका लागि असोज पहिलो सातादेखि हवाई टिक बुकिङ खुल्ला

तु खबर संवाददाता
२०७८ भाद्र ३०,बुधबार १५:३९
file photo

काठमाडौं । दसैँ–तिहारका लागि आगामी असोजको पहिलो सातादेखि अग्रीम हवाई टिकट बुकिङ खुल्ला हुने भएको छ । यात्रुको चापको आधारमा दसैँ, तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङको गृहकार्य गरिरहेको वायुसेवा संचालक संघले असोज पहिलो सातादेखि टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको जनाइएको छ ।

यद्यपि, सरकारको तर्फबाट भने हालसम्म पनि टिकट बुकिङ खुल्ला गर्ने बारे आधिकारिक धारणा आइसकेको छैन । जसले गर्दा अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सम्बन्धमा आफूहरू रोकिन पुगेको वायुसेवा सञ्चालक संघले जनाएको छ । संघका अनुसार, काठमाडौँ–पोखरा, काठमाडौँ–भैरहवा, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–वीरेन्द्रनगर लगायतका रुटहरूमा यात्रुहरूको उच्च चाप देखिएको छ ।

नयाँ नोट साट्न साटही काउन्टर
काठमाडौं । दशैं–तिहार लक्षित (नयाँ) नोट साटहीका लागि नेपाल राष्ट्र बैंकले एक्सचेन्ज काउन्टर तोकेको छ । बैंकले आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने नोट सट्नका लागि साटही काउन्टर तोकेको हो । गत वर्ष कोरोना महामारीका कारण नयाँ नोट वितरण नगरेको राष्ट्र बैंकले यसवर्ष भने स्वास्थ्य मापदण्डको पालना गरी नयाँ नोट वितरण गर्न लागेको हो ।

बैंकले बुधबार एक सूचना जारी गर्दै काठमाडौंमा राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरूबाट र उपत्यका बाहिर (मोफसल) मा सात वटै प्रदेशस्थित बैंकको आफ्नै प्रादेशिक कार्यालयहरु र वाणिज्य बैंकहरुले तोकेको शाखाहरूबाट समेत नोट साट्न पाइने जनाएको छ । कोभिड–१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै यसपटक सहज वातावरणमा सहज रुपमै सर्वसाधारणलाई नयाँ नोट सटहीको सुविधा मिलाइएको समेत बैंकले जनाएको छ ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट दिने योजना बनाएको छ । सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा क, ख र ग वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । सोही क्रममा आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ६० करोड रुपैयाँ लगिसकेका छन् । बैंक तथा वित्तीय संस्थाले असोज १०–१२ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने जानकारी राष्ट्र बैंकलाई गराएका छन् । दशैं हर्ष उत्सास ठूलो पर्व भएकोले यो पर्वमा मान्यजनको हातबाट टिका जमरा र दक्षिणा ग्रहण गर्ने प्रचलन छ । दक्षिणा दिँदा नयाँ नोटले शोभा बढाउने मान्यता छ ।