निर्माणाधीन थानकोट–चित्लाङ सडकखण्ड पूर्ण रुपमा बन्द

तु खबर संवाददाता
२०७८ भाद्र १४, सोमबार ०८:०५
file-photo

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकादेखि संघीय राजधानीसम्म जोड्ने छोटो दुरीको  थानकोट– चित्लाङ सडकखण्ड (गणेशमान सिंह मार्ग) आइतबारबाट पूर्ण रुपमा बन्द गरिएको छ ।

सडक निर्माण समितिले अर्को सूचना नआएसम्मको लागि उक्त सडकखण्ड हुँदै पैदल यात्रासमेत नगर्न आग्रह गरेको छ ।

सडकखण्ड विस्तार गर्ने क्रममा अंघेरी खोल्सि–राम्चे खण्डमा पहरा कटिङको कार्य भईरहेकोले सवारी साधन तथा पैदलयात्रा गर्न समेत अत्यन्तै जोखिम हुने भएकाले अर्को सूचना नआएसम्मको लागि उक्त सडक पूर्ण रुपमा बन्द गरिएको जनाइएको छ ।

राजधानी काठमाडौंबाट १२ किलोमिटरको दुरीमा पर्यटकीय गाउँ चित्लाङ छ । सडक नबन्दा काठमाडौं जानका लागि चखेल, फाखेल वा त्रिभुवन राजपथको लामो दुरी पार गर्नु पर्ने बाध्यता थियो ।

थानकोट–चित्लाङ सडक नबन्दा चित्लाङ घुम्न जाने पर्यटकलाई अप्ठेरोमा पर्नुको साथै चित्लाङ र आसपासका गाउँमा उत्पादित तरकारी बजारमा लैजान समेत सास्ती हुँदै आएको छ ।

सडक निर्माणमा निर्माण व्यवसायी कम्पनीले लापरबाही गरेको भन्दै स्थानीयले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।