मउवा संघ निर्वाचन– जोखाना हेर्दै सीडिओ पाण्डे

तु खबर संवाददाता
२०७८ बैशाख १०, शुक्रबार १९:४९
file-photo

मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको दोस्रो लहर मकवानपुरमा पनि सुरु भएको छ । छिमेकी मुलुक भारतसँग प्रत्येक्ष सम्बन्ध रहेको र प्रदेश नम्वर २ सँग सिमाना जोखिएको कारण मकवानपुरमा पनि कोरोना संक्रमणको जोखिम उच्च रहेको छ ।

पछिल्ला केही दिनहरुमा मकवानपुरमा कोरोना संक्रमणको दरमा बृद्धि भएको तथ्याङ्क सार्वजनिक हुँदै आएको छ । शुक्रबार मात्रै मकवानपुरका २३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यससँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या १ सय २० भन्दा बढी रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क छ ।
कोरोनाको उच्च जोखिमलाई मध्येनजर गर्दै सरकारले जोखिम न्यूनिकरणका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्वन गर्न निर्देशन जारी गर्नुको साथै विभिन्न योजनाहरु अघि सारेको छ ।

सरकारको निर्देशनलाई टेकेर जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को नियमित बैठकले पनि विभिन्न निर्णयहरु गरेको छ ।

दैनिक रुपमा डीसीसीएमसीको बैठक बसेर विभिन्न सभा सम्मेलन, गोष्ठि, सेमिनार, उत्सव, मेला, पर्व तथा भीडभाड हुने कुनैपनि कार्य नगर्न आग्रह गरेको छ ।

सरकारको निर्देशन र प्रशासनको आग्रहका आधारमा भन्ने हो भने मकवानपुरका भीडभाडजन्य कुनैपनि गतिविधि संचालन गर्न पाइने छैन । तर, बैशाख १८ गते हुने भनिएको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको सन्दर्भमा भने प्रशासन मौन देखिन्छ ।

कोरोनाको उच्च जोखिमकाबीचमा हुने भनिएको मउवा संघको निर्वाचनको विषयले मकवानपुरवासीमा चासो र चिन्ताको थपिएको छ ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचना

[pdf-embedder url=”https://www.tukhabar.com/wp-content/uploads/2021/04/DCCMC_Nirnaya_2078_01_07.pdf”]

सीडिओले चपाए जिब्रो

मकवानपुर उद्योग वाणिज्य संघ तोकिएकै समयमा निर्वाचन गराउने तयारीमा जुटेको छ । तर, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले भने यस विषयमा स्पष्ट जवाफ दिएका छैनन् । स्रोतका अनुसार मउवा संघलाई सिडिओ पाण्डले निर्वाचन गर्न दिने आश्वासन दिएका छन् । सिडिओको वचन लिएर मउवा संघ आवश्यक तयारीमा जुटिसकेको छ ।

तु खबरसँगको कुराकानीमा सीडिओ पाण्डेले निर्वाचनका सन्दर्भमा स्पष्ट प्रतिक्रिया दिएनन् । उनले निर्वाचन हुन्छ वा हुन्न भन्नेबारे कुनै आधिकारीक धारणा सार्वजनिक गरेनन् । उनले निर्वाचनको मिति केही दिनपछि मात्रै भएकोले अहिले नै यसबारे आफुले आधिकारीक धारणा सार्वजनिक नगर्ने बताए ।

सामान्य नागरिकले विबाह, ब्रतबन्ध जस्ता कार्य गर्नसमेत प्रशासनसँग अनुमति लिनुपर्ने र कुनै पनि कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाइने भन्दै निर्देशन जारी गर्ने सीडीओले मउवा संघको निर्वाचनको विषयमा प्रतिक्रिया दिँदा भने जिब्रो चपाए ।

‘चुनाव आजको भोलि नै हुने होइन, अझै समय बाँकी छ । हामी उहाँहरुसँग पनि छलफल गर्छौँ, मउवा संघको निर्वाचनको मिति पहिले नै तोकिएको हो । त्यसपछि मात्रै सरकारको निर्देशन आएको हो । तै पनि छलफल गर्दै छौँ । अनि मउवा संघको निर्वाचनका बारेमा मैले गर या नगर भन्न मिल्दैन । त्यो उहाँहरुको कुरा हो ।’ उनले भने ।

मकवानपुर उद्योग वाणिज्य संघले तोकिएकै समयमा निर्वाचन गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई बिहिबार ध्यानाकर्षण पत्रसमेत बुझाएको थियो ।

मउवा संघको निर्वाचनमा करिब ३ हजारभन्दा बढी सदस्यहरुले मतदान प्रक्रियामा भाग लिने छन् । निर्वाचनका लागि विभिन्न पदका उम्मेदवारहरुले चुनावी अभियान पनि जारी नै राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*