सरकार इमानदार बन्नु पर्यो : देउवा
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संविधानअनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सरकारको ध्यानाकर्षण गराएका छन्।
‘संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावनाअनुरूपको व्यवहार जरुरी हुन्छ’, सभापति देउवाले संविधान दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरू क्रमशः गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तीन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ।’ तर, त्यसपछिका दिनमा संविधानको सफलताका लागि बाँकी कार्यभार पूरा गर्नेभन्दा संविधानको भावनाविपरीतका गतिविधि नेकपा नेतृत्वको सरकारबाट भइरहेको आरोप उनले लगाएका छन्।
‘यसलाई मैले गम्भीरतापूर्वक लिएको छु’, उनले भनेका छन्। संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन्।
लोकतान्त्रिक संविधानअनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न उनले सरकारलाई अपिल गरेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
