देउवाविरुद्ध पौडेल पक्षको हस्ताक्षर
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक मामिलामा ध्रुवीकरण बढाएर पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्य समितिमा विरोधपत्र दर्ता गराउने तयारी गरेको छ । विरोधपत्र दर्तापश्चात् पनि निर्णय नसच्याए संघर्षका कार्यक्रममा उत्रने चेतावनी पौडेल पक्षको छ । नेतृत्वले लिएका विधानविपरीतका निर्णय, निर्देशन र गतिविधिका विवरण समावेश गरी पौडेल पक्षले तयार पारेको विरोधपत्रमा संस्थापन इतरपक्षीय केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरिरहेका छन् ।
ध्रुवीकरणको आडमा विधि, प्रक्रिया र कार्यविधि मिच्दै देउवाले महाधिवेशनबाट आफ्नै नेतृत्वलाई निरन्तरता दिन खोजेको निष्कर्ष पौडेल पक्षको छ । पौडेलपक्षीय केन्द्रीय सदस्य गुरु घिमिरेका अनुसार सबै केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित विधानविपरीतका निर्णय सच्याउन माग गर्दै छिट्टै विरोध दर्ता हुनेछ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र उनको पक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई समेत हस्ताक्षर गराउन पहल भइरहेकाले दर्ता गराउन ढिलाइ भएको उनले बताए । ‘पत्र तयार भइसकेको छ । नेताहरूले अहिले छलफल गरिरहनुभएको छ,’ उनले भने ।
यो अभियानमा सिटौला पक्षमा रहेका केन्द्रीय सदस्य गगनकुमार थापा र प्रदीप पौडेल सुरुदेखि नै संलग्न छन् । नेता सिटौलाले भने ‘रिजर्भेसन’ राख्दै आएका छन् । उनी संस्थापन र पौडेल पक्ष कतै जोडिन चाहेका छैनन् । मुद्दामा सहमति भए पनि हस्ताक्षर गरेर अघि बढ्दा पौडेल पक्षमा गएको सन्देश जान सक्ने सिटौलाको बुझाइ छ ।
पार्टीभित्र नयाँ ध्रुवीकरण र समीकरणका सम्भावनासमेत देखिरहेका सिटौलाले केही समयसम्म आफ्नो समूहलाई
‘इन्ट्याक्ट’ राखेर अघि बढ्न चाहेका छन् । उनलाई मनाउन थापा र अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले कोसिस गरिरहेका छन् । सिटौला मञ्जुर नभए थापा र पौडेलले समेत हस्ताक्षर नगर्ने सम्भावना छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
