धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा एक महिलाको धारिलो हतियार प्रहारबाट हत्या भएको छ ।
गएराति अज्ञात समूहले ५५ वर्षीया महिला बेलु खातीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यस्तै धारिलो हतियार प्रहारबाट उनका श्रीमान ६२ वर्षीय घनश्याम खाती भने गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका घनश्यामलाई उपचारका लागि धनगढी पठाइएको छ ।
प्रहरीका अनुसार घटना खाती परिवारको घरमै मध्यरातमा भएको थियो । हत्यामा संलग्नको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।