भानु मावि भवन निर्माणमा अर्को रहस्य बाहिरियो : हेर्नुहोस् हात्तिपाइले नै दुब्लो
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको श्री भानु माद्यमिक विद्यालयमा नयाँ भवन निर्माणको क्रममा निर्माण समितिले जानीजानी गम्भीर लापरवाही गरेको अर्को तथ्य तु खबरले फेला पारेको छ ।
स्वीकृत नक्सा अनुसार बनाउनु पर्ने संरचना त्यस विपरित बनाई गम्भीर लापरवाही गरेको फेला परेको हो । स्वीकृत गरिएको नक्सा अनुसार बनाउनु पर्नेमा नबनाई कमसल काम गरिएको रहस्य खुलेको हो । विद्यालयको भवन निर्माणको काम कमसल भएपछि त्यसबारे सबैतिर चर्चा भइरहेको छ । सम्बन्धित निकायले पनि यसबारेमा छानबिन अघि बढाइरहेको छ ।
भवन निर्माणको क्रममा जसरी हात्तिपाइले हाल्नुपर्ने हो त्यसरी नहाली हात्तिपाइले कमसल बनाइएको छ ।
हेर्नुहोस् फोटो :



प्राविधिक भाषामा ( प्रोपोर स्लोब मेन्टेन) अर्थात करिब ४५ डिग्रीमा हात्तिपाइलेको स्लोब ढल्कँदै गएको हुनुपर्छ, तर निर्माण समितिले हात्तिपाइलेको स्लोब मेन्टेन गरेको छैन । प्रत्येक हात्तिपाइलेमा करिब ४० प्रतिशत कंक्रिट ठगी गरिएको छ । जगनै कमजोर भएपछि निर्माण गरिने भवन गुणस्तरीय नहुने प्राविधिकहरुको दाबी छ । भनिएको भन्दा कमसल हात्तीपाइले हाल्दा त्यसबाट राम्रो मुनाफा बच्ने प्राविधिकहरुको भनाइछ । तर, भवन भने कमजोर बन्छ ।
त्यसैगरी प्राविधिक भाषामा ( आरसीसी ओर्क डेप्थ थिगनेसको मात्रा कम) अर्थात आरसीसीको मोटाई कम गरिएको छ । मापदण्डविपरित र नक्सा अनुसार नभएकोले सो भवनबारे छानविन हुनुपर्ने प्राविधिकहरु बताउँछन् ।
निर्माण समितिको नियत नै गलत
विद्यालयले भवनको डिपिआर अन्तरगतको काम गर्न निर्माण समिति बनाएको छ । सो समितिका संयोजक हुन् चन्द्रबहादुर योञ्जन । उनी आफैँ भवन सम्बन्धी जानकार व्यक्ति हुन् । राडो नेपाल नामक गैरसरकारी संस्थामार्फत उनले भवन निर्माण सम्बन्धी कामको राम्रै अनुभव संगालेका छन् । तर उनैले निर्माणको जिम्मा पाएको भवनको प्रत्येक हात्तिपाइलेमा ४० प्रतिशत कंक्रिट ठगी भएको छ ।
प्राविधिक र अन्य निर्माण समितिका सदस्यहरुले थाहा पाएर पनि नपाएझैँ गरे यसले निर्माण समिति र प्राविधिकको नियतनै गलत भएको पुष्टि गरेको छ ।
समितिले प्लिन्थ लेबलको कूल १० वटामध्ये ४ वटा बीम नहाली निर्माणको प्रक्रिया अघि बढाएको थियो । ल्यापिङ रडको प्रयोग नगरी अहिले बीम गाँसिएको छ ।
बीममा चुरीको संख्या नक्सामा उल्लेख भएअनुसार छैन । निर्माण सामग्रीमा सिमेन्टको मात्रा ठगी गरिएको छ , छडको प्रयोग मापदण्ड अनुसार छैन ।
सो भवनको लागि एउटा हात्तिपाइले निर्माण गर्न १० देखि १३ बोरासम्म सिमेन्ट आवश्यक पर्ने प्राविधिकहरु बताउँछन् । सिमेन्टकै तुलनामा निर्माण सामग्री चाहिन्छ, तर भवनको ३० वटा हात्तिपाइलेमा ४० प्रतिशत भन्दाबढी कंक्रिट ठगी गरिएको छ ।
