कुहिएको खाद्यन्न वितरण गरेको भन्दै कलैया उपमहानगरका मेयर पक्राउ
बारा, ०९ वैशाख । कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ ।
कुहिएको खाद्यन्न वितरण गरेको आरोप लागेपछि मेयर रायलाई पक्राउ गरिएको बाराका एसपी कृष्ण पंज्ञनीले तु खबरलाई जानकारी दिए । मेयर रायले राहतको नाममा गुणस्तरहीन चामल, दाललगायतका खाद्य बस्तु बाँडेको आरोप लागेपछि उनी पक्राउ गरेका हुन् ।
उनीमाथि अभियोगबारे सोधपुछ भइरहेको एसपी पंज्ञानीले जानकारी दिए । उनीमाथि बयान लगायतका कार्य भइरहेको र प्रमाण अध्ययन गरी मुद्धा चलाइने एसपी पंज्ञेनीले बताए ।
कलैया उपमहानगरपालिकाका केही वडा अध्यक्षहरुलाई गुणस्तरहीन खाद्य सामग्री वितरण गरेको आरोपमा बारा प्रहरीले केही समय अघि पक्राउ गरेको थियो ।
उनीहरुकै बयानका आधारमा मेयर रायलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ । उपमहानगरपालिका स्रोतले तु खबरलाई बताए अनुसार, कुहिएको दाल र चामल वितरण गरिएकोमा उजुरी परेको हो ।
मेयर रायसहित ५ वडाअध्यक्ष, ३ कर्मचारी र एक जना दाल आपूर्ति गर्ने ठेकेदारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
जम्मा १० जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
