बैंकमा सुन राखे उल्टै ब्याज पाइने ! यसरी पाइन्छ ब्याज ?

तु खबर संवाददाता
२०७६ फाल्गुन २५, आईतवार ११:५८

काठमाडौं, २५ फागुन । अब तपाईहरुले घरमै थन्क्याएर राखेको सुनबाट उल्टै ब्याज पाउनु हुनेछ । यसका लागि तपाईले बैंकमा सुन जम्मा गरेर ब्याज लिन पाउने सुविधा गत (बिहीबार) देखि सञ्चालनमा आएको छ ।

अब बैंकमा सुन धितो राखेर ऋण मात्र होइन सुन जम्मा गरेर उल्टै ब्याज समेत खान पाइने भएको छ । राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै सुन निक्षेप योजना शुरु गरेको हो ।

न्यूनतम २५ ग्रामभन्दा बढी सुन मात्र बैंकले निक्षेपका रुपमा लिने छन् । सुनको शुद्धता तथा तौल मापन गर्ने छुट्टै संयन्त्र बैंकले तोक्नु पर्नेछ । कम्तिमा ९९५ फिटनेस सुन मात्र बैंकले निक्षेपका रुपमा लिने जनाइएको छ ।

आफूले बैंकमा जम्मा गरेको साँवा सुन तथा ब्याज सुनमै फिर्ता लिने वा नगदमा लिने पहिले नै बैंकसँग सम्झौता गर्नु पर्नेछ । सुन निक्षेप कम्तिमा ३ बर्ष र अधिकतम ५ बर्षका लागि राख्नु पर्ने हुन्छ ।

सुन निक्षेपको ब्याज दर बैंकहरुले नै निर्धारण गर्ने छन् । नगदमा ब्याज लिने ग्राहकलाई ब्याज रकम त्रैमासिक रुपमा भुक्तानी गर्नु पर्छ । सुन ब्याजमा लिने ग्राहकलाई त्रैमासिक रुपमा ’कम्पाउन्डिङ इन्ट्रेस्ट’ मा गणना गरी निक्षेप अवधिपछि भुक्तानी गर्नुपर्छ । सुन निक्षेप राख्दा मूल्याङ्कन सुनचाँदी ब्यवसायी महासंघले तोकेको बजार मूल्यमा गर्नु पर्ने हुन्छ ।

सुन निक्षेप स्वीकार गर्ने बैंकको ढुकुटीमा रहेको सुन राष्ट्र बैंकको निर्देशन अनुसार कायम गर्नु पर्ने अनिवार्य तरलता अनुपात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) गणना गर्न सकिने भएको छ । सीआरआरको अधिकतम २५ प्रतिशतसम्म मात्र सुन निक्षेपको रुपमा गणना गर्न पाइने छ ।

१० लाख रुपैयाँभन्दा बढीको सुन निक्षेपको स्रोत खुलाउनु पर्नेछ । सुन निक्षेपको प्रमाणपत्रलाई त्यही बैंकमा धितो राखी निक्षेपमा रहेको सुनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने भएको छ । यसको ब्याज दर निक्षेपमा पाइरहेको भन्दा २ प्रतिशत बिन्दु बढी हुनेछ ।

सुनको निक्षेप स्वीकार गर्दा वाणिज्य बैंकहरुले सुनको प्रचलित बजार मूल्यलाई नै आधार मान्नुपर्ने व्यवस्था समेत गरिएको छ । यो निक्षेप राख्नको लागि ग्राहकले छुट्टै खाता भने खोल्नुपर्नेछ । त्यसरी खाता खोल्दा केवाईसी फारामहरु भने अन्य खाताको जस्तै गरी भर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

सुनलाई निक्षेपमा राखेका व्यक्तिले सो निक्षेपको ७० प्रतिशतसम्म कर्जा लिन सक्ने र सो कर्जाको ब्याजदर निक्षेपको ब्याजदर भन्दा २ प्रतिशत मात्रै बढी हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तो निक्षेपलाई बैंकहरुले सीआरआर, एसएलआरको प्रयोेजनको लागि प्रयोग गर्न सक्नेछन् । राष्ट्र बैंकले बैंकहरुलाई ७ दिनभित्र यस्तो निक्षेप स्वीकार गर्ने कार्यविधि बनाउन निर्देशन समेत दिएको छ । नयाँपेजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*