भीमफेदीको सुरुङमार्ग निर्माणस्थलमा भौतिक मन्त्री, ५० प्रतिशत अध्ययन सकियो

तु खबर संवाददाता
२०७६ फाल्गुन २३, शुक्रबार १३:१०

हेटौंडा, २३ फागुन । पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणस्थल पुगेर बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले स्थलगत निरीक्षण गर्नु भएको छ ।

बागमती प्रदेशको गौरवको योजना हेटौंडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणमा भइरहेको कामको बारेमा जानकारी लिन आज शुक्रबार मन्त्री निर्माणस्थलमै पुग्नु भएको हो । सुरुङमार्गको दक्षिणतर्फको प्रवेशद्धार भीमफेदीको कोलडाँडा नजिक पुगेर मन्त्री फुयालले प्राविधिक अध्ययन गरिरहेको टोलीसँग कामका बारेमा जानकारी लिनु भएको हो ।

प्राविधिक टोलीका इन्जिनियरिङ भूगर्भशास्त्री इश्वर दाहालले मन्त्री फुयाललाई सुरुङमार्गको डीपीआर तयार गर्नको लागि भइरहेको प्राविधिक अध्ययनको बारेमा जानकारी गराउनु भएको छ । भूगर्भशास्त्री दाहालले सुरुङमार्गको ५० प्रतिशत प्राविधिक अध्ययन गरी सकाएको जानकारी दिनु भयो ।

उहाँले करिब डेढ महिनाभित्र सुरुङमार्गको डीपीआर तयार हुने जानकारी दिनु भयो । भूगर्भशास्त्री दाहालका अनुसार टोपोग्राफिक सर्वे, जियोलोजिकल म्यापिङ सर्वे, ड्रोन सर्वे भइरहेको छ । जियोलोजिकल सर्वे ३ दिनपछि सुरु हुने उहाँले बताउनु भयो । सुरुङमार्गको प्राविधिक अध्ययनको लागि ४५ जना कार्यस्थलमा खटिनु भएको छ ।

प्राविधिक टोलीका इन्जिनियरिङ भूगर्भशास्त्री इश्वर दाहाललगायतको टोलीले सुरुङमार्गको प्रविधिक अध्ययनको लागि संकलन गरेको ढुंगा ।तस्बिर तु खबर ।

१० जनाले डिजाइनिङ, २० जनाले सोयल इन्भेष्टीगेशन, ५ जनाले टापोग्राफिक सर्वे, ५ जनाले जियोफिजिकल सर्वे र ५ जनाले ड्रोन सर्वे गर्ने काममा खटिएको भूगर्भशास्त्री दाहाल जानकारी दिनु भयो । ‘यी सबै प्राविधिक अध्ययन सकिन अझै ४०, ५० दिन लाग्छ । अध्ययन सकिए लगत्तै प्रदेश सरकारलाई डीपीआर बुझाउँछौं ।–’ भूगर्भशास्त्री दाहालले भन्नु भयो ।

प्रविधिक टोलीले जमिनबाट ५० मिटरभित्र ‘भर्टिकल’ सर्वे सकाएको छ । उक्त सर्वेले सुरुङ सुरक्षित हुने निश्चित भएको भूगर्भशास्त्री दाहालले जानकारी दिनु भयो । भीमफेदीदेखि कुलेखानीसम्म ३ दशमलव २ सय १५ किलोमिटर सुरुङ निर्माण हुनेछ ।

सुरुङमार्गको चौढाई ११ मिटरको हुने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । दुई लेनको सडक रहने सुरुङमार्गबाट पेट्रोलियम पदार्थको पाईपलाईन, खानेपानी पाईप तथा ग्याँसको पाईपलाई समेत रहने बताईएको छ । साथै आपत्तकालिन अवस्थामा सवारी पार्किङ गरी राख्न छुट्टै सडक लेन निर्माण गरिने मन्त्रालयले जानकारी दिएको छ ।

बागमती प्रदेश सरकारले वैशाख २०७७ भित्रै सुरुङमार्गको ग्लोबल टेण्डर आह्वान गर्ने गरी काम अगाडि बढाइएको भौतिक विकास मन्त्री रामेश्वर फुयालले जानकारी दिनु भयो । उहाँले सुरुङमार्ग बन्नेमा विश्वस्त हुन जनमानसलाई आग्रह गर्नु भएको छ ।

‘यो प्रदेशकै गौरव योजना हो । कुनै हालतमा प्रदेश सरकारले सुरुङमार्ग बनाएर छाड्छ विश्वस्त हुनुस । अब हामी आगामी वैशाखभित्रै टेण्डर आह्वान गर्दैछौं ।’ मन्त्री फुयालले भन्नु भयो ।

निरीक्षणमा पुर्वसंविधानसभा सदस्य अनन्त पौडेल, पुर्व जिल्ला विकास समितिका सभापति रामेश्वर राना, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*