हेटौंडामा चैत १६ गतेदेखि हुन लागेको व्यापार मेला स्थगित, यस्तो रहेछ कारण
हेटौंडा, २१ फागुन । मकवानपुर उद्योग वाणिज्य संघअन्तर्गत् महिला उद्यमी विकास समितिले हेटौंडामा गर्न लागेको व्यापार मेला स्थगित भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मेला नगर्न समितिलाई निर्देशन दिएपछि स्थगित गरिएको समितिले जानकारी दिएको छ । विगतमा सात वटा मेला, महोत्सव तथा एक्सपो सम्पन्न गरिसकेको समितिले यही चैत १६ गतेदेखि २२ गतेसम्म हेटौंडामा आठौं महिला उद्यमी, कृषि, व्यापार तथा पर्यटन मेला–२०७६ आयोजना गर्दै थियो ।
तर, छिमेकी मुलुक चिनको वुहान उद्यगम स्थल रहेको विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस विभिन्न देशमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै मेला स्थगित गरिएको समिति सभापति निलम वैद्यद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
कोरोना भाइरसको प्रभाव नेपालमै पनि पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी नेपाल सरकारले पूर्व सावधानी अपनाउन सूचनाहरु जारी गरेको अवस्था र मकवानपुर प्रशासनले मेला नगर्न सुझाव दिएको भन्दै स्थगित गरिएको समितिले जनाएको हो ।
‘यस्तो अवस्थाको कारण मेला आयोजना गर्नु उपयुक्त नभएकोले अर्को सूचना जारी नभएसम्मको लागि आठौं महिला उद्यमी, कृषि, व्यापार तथा पर्यटन मेला–२०७६ स्थगित गरिएको समिति तथा मेलाका शुभचिन्तक, प्रदर्शक, सहयोगी दाता तथा सरकारी निकायलगायतलाई जानकारी गराइएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
